गृहकार्य (Homework)

0

गृहकार्य

गृहकार्य के हो ?

विद्यार्थीहरुले विद्यालयमा सिकेका कुरा घरमा पनि पुनरावलोकन गरुन्, सिक्नुपर्ने कुरा खोजून्, नियमित अध्ययन गर्ने बानीको विकास होस् भन्ने उद्देश्यले घरमा सम्पन्न गर्न दिइएको कुनै कार्यलाई गृहकार्य भनिन्छ ।

कस्तो कस्तो कार्य गृहकार्य हुन्छ ?

हाम्रा अधिकांश अभिभावक, प्रशासन, विद्यालय व्यवस्थापन समिति आदिको लेख्ने कार्य मात्र गृहकार्य हो भन्ने बुझाइ छ । यो गलत बुझाइ हो । घरमा सम्पन्न गर्ने गरी दिइएको लेख्ने कार्य, पढ्नुपर्ने कार्य, खोज्नुपर्ने कार्य, सोध्नुपर्ने कार्य जस्ता कार्यहरु गृहकार्य हुन सक्दछन् ।

गृहकार्यमा जिम्मेवार को को हुन्छन् ?

गृहकार्य दिनु र दिइएको कार्य विद्यार्थीले सम्पन्न गरे कि गरेनन् जाँच गर्नु शिक्षकको जिम्मेवारी हो भने दिइएका गृहकार्यहरु घरमा सम्पन्न गर्न लगाउनु अभिभावकको जिम्मेवारी हो । तसर्थ गृहकार्य सम्पन्नतामा शिक्षक र अभिभावक दुवै उत्तिकै जिम्मेवार हुन्छन् ।

गृहकार्य स्मरणका लागि कसले के गर्ने ?

प्रत्येक दिन सबै विषय शिक्षकले दिनुभएको गृहकार्य विद्यार्थीले नसम्झन सक्छन् । तसर्थ विद्यालय र अभिभावको सहभागितामा गृहकार्य पुस्तिका (Homework Diary) निर्माण गर्नुपर्दछ र विषय शिक्षकले उक्त होमवर्क डायरीमा प्रत्येक दिन आफूले दिएको गृहकार्य विद्यार्थीलाई नोट गर्न लगाउनु पर्दछ । अभिभावकले प्रत्येक दिन होमवर्क डायरी हेरेर के के गृहकार्य रहेछ रुजू गरी बाबुनानीलाई गृहकार्य गर्न सहयोग गर्नुपर्दछ ।

गृहकार्य कहाँ परीक्षण गर्ने ?

कतिपयको बुझाइ गृहकार्य कक्षाकोठामा होइन कार्यालयमा कपि ल्याएर परीक्षण गर्नुपर्दछ भन्ने रहेको छ । यो सङ्कुचित बुझाइ हो । गृहकार्य दिनु र परीक्षण गर्नु पनि कक्षाकोठा भित्र गरिने नियमित सिकाइ सहजीकरण प्रक्रिया भित्रकै एक अभिन्न अङ्ग हो । गृहकार्यको सम्पादनका आधारमा विद्यार्थीलाई आवश्यक पृष्ठपोषण दिनुपर्दछ । त्यसैले विद्यार्थीलाई अगाडि नै राखेर वा कक्षाकोठामा नै गृहकार्य परीक्षण गर्नु उपयुक्त हुन्छ । कहिलेकहिँ गृहकार्यमा आधारित भएर नै सिकाइ सहजीकरण क्रियाकलाप सञ्चालन गर्नुपर्ने पनि हुन सक्छ ।

गृहकार्य परीक्षण कसरी गर्ने ?

विषय शिक्षकले रातो मसीले ठिक दिएर र दस्तखत गरेर मात्र गृहकार्य परीक्षण गर्नुपर्दछ र हुन्छ भन्ने छैन । गृहकार्य परीक्षणबाट विद्यार्थीमा केही सिकाइ हुनुपर्दछ । “सिकाइका लागि गृहकार्य” भन्ने मूल मर्मका साथ शिक्षक र विद्यार्थी मिलेर गृहकार्य परीक्षण गर्न सकिन्छ । गृहकार्यको प्रकृतिअनुसार परीक्षणका लागि विभिन्न तरिकाहरु अपनाउन सकिन्छ :

लेख्ने गृहकार्य भएमा

ü      सबै विद्यार्थीको कपिमा शिक्षकले हेरेर ठिक दिने र दस्तखत गर्ने ।

ü      कक्षाका उत्कृष्ठ विद्यार्थीहरु र शिक्षक मिलेर कपि परीक्षण गर्ने ।

ü      गृहकार्यको सम्भावित उत्तर सेतोपाटीमा शिक्षकले लेखिदिने र सबै विद्यार्थीलाई आआफ्नो कपिमा उत्तर मिले नमिलेको जाँच गर्न लगाउने ।

ü      गृहकार्यको सम्भावित उत्तर सेतोपाटीमा शिक्षकले लेखिदिने र विद्यार्थीको जोडी बनाई एकअर्काको उत्तर मिले नमिलेको जाँच गर्न लगाउने ।

ü      सबै विद्यार्थीलाई प्रश्नको उत्तर पढ्न लगाउने र पृष्ठपोषण दिने ।

ü      धेरै प्रश्न भएमा एउटा प्रश्नको उत्तर एक विद्यार्थीलाई भन्न लगाउने र पृष्ठपोषण दिने ।

पढ्नुपर्ने/कण्ठ गर्नुपर्ने गृहकार्य भएमा

ü  कक्षामा भएका विभिन्न क्षमताका विद्यार्थीलाई प्रतिनिधिमूलक प्रश्न सोधी उत्तर भन्न लगाउने । प्रश्न सोध्दा APPLE सिद्धान्तलाई अवलम्बन गर्ने ।

ü  कक्षाका उत्कृष्ट विद्यार्थीहरुबाट सबै विद्यार्थीलाई प्रश्न सोध्न लगाउने ।

ü  विद्यार्थीको जोडी बनाई एकअर्कालाई प्रश्न सोध्न र उत्तर भन्न लगाउने ।

ü  कक्षामा सबैभन्दा उत्कृष्ट र कमजोर मानिएका विद्यार्थीलाई प्रश्नको उत्तर भन्न लगाउने र कक्षालाई नै पृष्ठपोषण दिने ।

अडियो/भिडियो तयार गर्नुपर्ने गृहकार्य भएमा

ü  सबै विद्यार्थीको अडियो भिडियो पालैपालो सुन्ने र हेर्ने ।

गृहकार्य दिँदा के के कुरामा ध्यान दिनुपर्दछ ?

ü  गृहकार्य विषयवस्तुसँग सम्बन्धित सिकाइ उपलब्धि हासिलमा सहयोग पुर्याउने हुनुपर्दछ ।

ü  गृहकार्य विद्यार्थीले बोझका रुपमा लिने खालको हुनुहुँदैन ।

ü  गृहकार्य विद्यार्थीले अनिवार्य गर्नैपर्ने कार्य हो भनी अवधारणा दिनुपर्दछ ।

ü  गृहकार्य विद्यार्थीको उमेर, कक्षा तथा स्तरअनुसारको दिनुपर्दछ ।

ü  विद्यार्थीले,

§  विभिन्न पाठ्यपुस्तक पढेर,

§  सामाजिक सञ्जाल, गुगल, युट्युब आदिमा खोजेर,

§  परिवारका सदस्य, छिमेकी तथा अन्य विभिन्न व्यक्तिसँग सोधेर, कुराकानी गरेर,

§  विद्यार्थी आफैँले सोचेर लेख्नुपर्ने वा तयार गर्नुपर्ने गृहकार्य दिनुपर्दछ ।

ü  गृहकार्य सकेसम्म थोरै र सबै विषयको हुनुपर्दछ ।

ü  कक्षा १–३ का बाबुनानीलाई एउटै विषयक्षेत्र (थिम) बाट दोहोरिने गरी गृहकार्य दिनुहुँदैन ।

ü  पूर्व प्राथमिक कक्षाका बाबुनानीलाई सकेसम्म गृहकार्य दिनुहुँदैन । दिनै पर्ने भएका कपिमा लेखेरभन्दा कार्य पुस्तिका (Workbook) तयार गरेर दिँदा उपयुक्त हुन्छ । कार्य पुस्तिका विद्यालय र अभिभावकको सहभागितामा तयार गर्नुपर्दछ ।

अन्त्यमा, गृहकार्यका कारण कुनै पनि विद्यार्थी बाबुनानीले विद्यालय र घरमा शारीरिक तथा मानसिक यातना भोग्नु नपरोस् ।

धन्यवाद ! 

बुद्धिबहादुर खड्का

शिक्षक

श्री माध्यमिक विद्यालय गौरीगञ्ज

भरतपुर–८, चितवन


Tags

Post a Comment

0Comments
Post a Comment (0)